कोरोनालाई परास्त गर्न सहज छैन

विश्वलाई नै नजिकको घर मानिआएको ग्लोबलाइजेसन र जोडिएको विकासलाई यतिखेर कोरोना जस्तो शुक्ष्म जिवले पुरै नियन्त्रणमा लिएर अहिलेसम्म भएका विसंगतिको पर्दाफास गरिदिएको छ। प्रश्न उठेको छ कि विकास कसकालागि हो र कस्तो हुनुपर्छ?

सत्य के हो भने मानिस विकासको परिकल्पनाकार, अन्वेषक र निर्माणकर्ता पनि हो तर मानिसले आफ्नै वंश, सन्ततिलाई जोखिममा पार्ने आधुनिकतावादको मार्ग तय गरेको छ। के यो विकासको मान्यता, अवधारणा (डीस्कोर्स) मानविय हितका दृष्टिकोणबाट पनि विकल्परहित भएकोले अवलम्वन गरिएको हो र? के योभन्दा राम्रो विकासको मान्यता बनाउन नसकिने नै हो र जसले सबैको भलो गर्न सकोस! विश्व सबैकालागि मिलेको घर-परिवार जस्तै हार्दिकता र मेलमिलापले सुखमय रहन सकेस।

कोरोना माहामारीले विकासका केही गति, मति र भ्रान्तिलाई सतहमा उतारेको देखियो। जव चीनको वुहानमा कोरोनाको संक्रमण देखियो त्यसलाई ‘गोयवल्स’ शैलीमा प्रचार गरेर अप्रमाणित, पुर्वाग्रही समाचारबाट दुनियाँलाई भ्रममा पारियो। चमेरोवाट सरेको भन्ने धारणालाई प्रवल देखाउन चमेराको मासु खाएको भिडियो सामाजिक संजालमा भाइरल भए। चीनिया ल्यावबाट छोडिएको भनियो। सत्य खोज्ने, वास्तविकता पहिल्याएर विश्वजनलाई सुरक्षित रहन सक्ने वातावरण बनाउने तिर कसैको ध्यान गएन। सबैले हल्का रुपमा लिए।

जव समस्याले युरोप, अमेरिकामा विकराल रुप लियो तब भने बल्ल शासक, संचार र गोयवल्सहरू तर्से। तैपनि मास्क लगाउन नपर्ने, डिस्इन्फेक्टेन्ट खाए हुने, क्लोरोक्विन, डेक्जामेथासोन, पोभिडीन आयोडीनले काम गर्ने भनियो। ठाउँ अनुसारको उपचार विधि उछालिए। वेसार पानी, अम्बाको पात, गुर्जो आदिले सन्चो हुने पनि भन्न भ्याए। भन्नेहरू ठूला मानिस, शासक, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिहरूको हैषियतमा थिए। एलोपेथि औषधि खुवाइएकोले संक्रमण तीब्र भएको भनेर दक्षिणतिरका योगापीठाधिशहरूले भने। आरोप प्रत्यारोप चलिरह्यो तर त्यही समयमा विश्वका नेतृत्व एकै ठाउँमा भेला भएर कोरोनाको कारण, परिणाम र समाधानका उपायहरू खोजिएन। ग्लोवल समस्यालाई छिन्नभिन्न भएर जसलाई जे मन लाग्यो त्यही गर्न, भन्न लागे। समस्या झनझन् तीब्र भयो।

मूल्यवान छोटो समय र अवसरलाई ख्यालठट्टामा विताएको विश्व नेतृत्वले प्राथमिकता निर्धारण गर्न सकेन। सुरूमा स्वास्थ्य सुरक्षाका सामाग्री कै अभाव भयो। मास्क, भेन्टीलेटर, पीपीइ (परसनल प्रोटेक्टीभ इक्वीप्मेन्ट) नै पाइएन। विकसित मुलुकका स्वास्थकर्मीहरूले विन ब्याग (फोहर फ्याक्ने प्लास्टीक) लगाएर काम गरे। मानवीय वेदनालाई नाफाको अवसर ठान्ने कुख्यात दानवहरूले लुटन, भ्रष्टाचार गर्न र कालो बजार गर्न पनि छाडेनन्। यसलाई नोम चोम्स्कीजस्ता अनुसन्धाताहरूले ‘नवउदारवादको निर्दयीपन नाङ्गिएको’ भनेर प्रतिक्रिया दिए।

संक्रमण शुरु भएको करिव एक वर्षपछि जब भ्याक्सिन आउन थाल्यो तब सुरु भयो ब्यापारिक राजनीति, दुष्ट कुटनीति, ब्यापार युद्द र शिथिल अर्थतन्त्रलाई उठाउन कोरोना भ्याक्सीनको चलखेल। कसैले एस्ट्रा जेनिका राम्रो, खराव भने, कसैले फाइजर-वायोनटेक राम्रो, खराव भने। साइनोभ्याक (चीन) र स्पुटनिक भ्याक्सीन (रुस)का बारेमा पनि नानाभाँतिका हल्लाहरू चलाइए। कम्तिमा विश्वका मानिस भ्याक्सीनको पहूचमा रहने भए भनेर उत्सहित हुन सकिएन बरू बजार खोस्न लागेकोमा जलन भएको मुश्लो देखियो। अनि कसैले अरुलाई उत्पादन गर्नै नदिने रणनीति खोजे। प्याटेन्ट राईट, इन्टलेक्चुअल प्रोपर्टी राइटका कुरा तेर्स्याए। जव दवाव बढदै गयो तब भनियो कि उत्पादनको अधिकारमात्रै दिएर पुग्दैन। उत्पादनसँग सम्बन्धित वातावरण जस्तै सरसफाई, गुणस्तर, यन्त्र औजार, कारखाना, भण्डारण, तापाक्रम, बजारीकरणको जिम्मालाई कसरी व्यावस्थापन गर्न सकिन्छ भन्ने भयो ! कोरोना भ्याक्सीनको उत्पादनसँगै वितरणको ठूलो चुनौति आयो जुन वैज्ञानीक युगको विश्वमा तयारै रहेनछ।

नेपालजस्ता मुलुकमा  त स्वास्थ्य सुरक्षाको पूर्वाधारै तयार थिएन। छिटफुट भेटिएका, दानमा पाइएका इन्जेक्सन पनि तुइनमा झुण्ड्याएर स्वास्थ्यकर्मीले देशको दूरदराजमा लग्दै गरेको दृष्य गाऊँ गाऊँमा पुगेको सिंहदरवारले त्यतिवेला थाहा पयो जतिवेला त्यस्ता भिडियोलाई विश्व स्वास्थ्य सङ्गठनका प्रमुखहरूले सामाजिक संजालमा पोष्ट्याए। यस्ता मुलुक र जनता विश्वमा आधाभन्दा धेरै छन्। यिनको हात र साथमा विकासको प्रतिफल शून्यजस्तै छ। चर्को खुरापातका बिचमा उत्पादन र वितरणमा आएको कोरोना भ्याक्सीन विपन्न मुलुकका विपन्न जनताले कहिले पाउने हुन निश्चित छैन।

हालै प्रकाशीत यौटा प्रतिवेदन अनुसार विश्वका कतिपय मुलुकका नागरिकले सन् २०२४ सम्म कोरोना भ्याक्सीन देख्नै नपाउने उल्लेख छ। त्यतिमात्र होइन, कोभिड-१९ को संकटले विश्वमा प्रति महिना ३७५ बिलियन युएस डलरको लागत भार थपिएको र आगामी दुई वर्षमा विश्व अर्थतन्त्रमा ८.५ ट्रलियन युएस डलर लागत  थपिने अनुमान छ। त्यो लागत कसरी व्यहोरिएला? तयारीको अवस्था ग्लोबलाइज्ड छैन; एकबद्ध, सामुहिक नभएर छिन्नभिन्न छ। जसको लागानी उसैको व्यापार हुने देखिएको छ।

यसरी विकास पक्षपाति त हुँदै हो। विकास समावेशि छैन। भनिने र गरिने व्यवहारकाविच आकास जमिनको फरक छ। ग्लोवलाइजेसन त भनिएको छ तर जब साधन, स्रोत र प्रतिफलको कुरा आउँछ कसैले पनि स्वार्थ तह लगाउन सकेको देखिँदैन। हदैसम्मको तुच्छ व्यवहार प्रदर्शीत गर्ने गरिएको छ। त्यसमा प्रजातान्त्रिक भनिने ठूला मुलुक नै त्यस्तो अप्रजातान्त्रिक व्यवहारमा अगाडी देखिएका छन्।

विश्वमा समस्याको स्वरुप बहुआयामिक हुँदै गएका छन्। जटिल जोखिम अगाडी आएका छन् तर तयारी र सोचमा खासै एकता देखिदैन। कुनै मुलुकले कसैलाई निषेध र घेरावन्दी लगाउनेमा व्यस्त देखिएका छन् भने यस्ता मुलुकको स्वार्थलाई सहजै स्विकार गर्ने अवस्थामा अर्काथरी मुलुकहरू देखिंदैनन्। यस्तो स्वार्थका कारण कोरोना लगायतका संकटहरू बलिया देखिएका छन् भने मानिसले तयार गरेको चामत्कारिक विकास पराजित हुने संघारमा उभिएको छ। वातावरणीय संकट, आर्थिक असमानता, कोरोना जस्ता महामारी, मानवीय संकटले सर्वत्र त्रास फैलाएको छ।

त्यसैले नयाँ मान्यता, अवधारणा र सांगठनीक संरचना समेत तयारी नगरिने हो भने अव विश्वले हार्नेमात्रै हो। जब विश्वले हार्छ त्यतिवेला शक्तिको दम्भ पालेकाहरूले पनि जितको अनुभव गर्न पाउने छैनन्। मिल्दा सबैको जित हुन्छ, नमिल्दाको परिणाम सबैले हार्ने, दुख पाउने नै हो। यो घेरावन्दिको समय होइन, मेलमिलाप र सोलिडारिटीको जमाना हो भन्ने बुझ्न जरुरि छ। नत्र कोरोना नै मानवजातीलाई सजायाँ दिन काफि हुनेछ।      

Feel free to leave your comment below. Thank you :)